काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन् । यस्तै अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् ।
कुसुमले खेलको १२ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् । कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरिन् ।
खेलको ३२ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो । मिडफिल्डर अनुले चन्द्रपुरकी गोलरक्षक युनिशा अगाढी बढेको फाइदा उठाउदै चिप गोल गरिन् ।
दोस्रो हाफमा विराटनगरले थप तीन गोल गर्यो ।

खेलको ६३ औं मिनेटमा डिफेन्डर सरिताले गोल गर्दा विराटनगर ३-० ले अघि रह्यो । उनले डिबक्स बाहिरबाट दोस्रो बारमा आकर्षक गोल गरिन् ।
खेलको ६९ औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ४-० को अग्रता दिलाईन् । चन्द्रपुरको गोलरक्षक र डिफेन्डरबीचको तालमेल नमिल्दा उनले गोल गरेकी थिइन् ।
त्यसपछि खेलको ७० औं मिनेटमा कुसुमले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै विराटनगरलाई ५-० को जित दिलाईन् । उनले काउन्टरमा गोल गरेकी थिइन् ।
जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।
यस अघि विराटनगरले पहिलो खेलमा वालिङसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७-० ले पराजित भएको थियो ।
चन्द्रपुरको यो दोस्रो हार हो ।
चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ ।
चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।
के भन्छन् प्रशिक्षक ?
विराटनगरका मुख्य प्रशिक्षक पारस चौधरीले प्लानिङ अनुसार खेल्दा जित निस्किएको बताए ।
विभागीय टिम एपीएफ सुन्नेबित्तिकै खेलाडीको मनोबल घट्छ,' उनले भने, 'तर, आजको ट्रेनिङ प्लानिङले काम गर्यो । नतिजा राम्रो आयो । नगर टोलीको लेभल एउटै छ । मेरा खेलाडीले राम्रो खेले ।'
चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामी मगरले रक्षापंक्ति कमजोर हुँदा लज्जास्पद हार व्यहोरेको बताए ।
'विराटनगरसँग पहिला पनि खेलेका थियौ । जित्छौ भनेर खेलेका थियौं । अघिल्लो जितले उत्साहित थियौं,' उनले भने, 'लजास्पद हार हुन्छ भन्ने सोचेका थिएनौं । रक्षापंक्ति कमजोर भयो । त्यसैले गार्हो भयो ।'