काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ ।
मंगलबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गरिन् ।
बलियो टिम आर्मीविरुद्ध एपीएफले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको २७ औं मिनेटमा अन्जलीले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् ।
साबित्रा भण्डारीले मिलाएको पासमा अन्जली बायाँ खुट्टाले दोस्रो बारमा आकर्षण गोल गरिन् ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सरुले गोल गर्दै एपीएफलाई २-० को जित दिलाईन् ।
सरुले पनि साबित्राको पासलाई सदुपयोग गरिन् ।
एपीएफकी अनिता केसी प्लेयर अफ दि म्याच घोषित भईन् ।
जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ ।
एपीएफ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।
दोस्रो खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७-० ले हराएको थियो ।
आर्मीको यो पहिलो हार हो ।
पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७-० ले हराएको थियो ।
आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपाल पुलिस क्लब ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?
एपीएफका मुख्य प्रशिक्षक जनक सिंह थारु उपाधिको लागि अझै कठिन खेलहरु बाँकी रहेको बताए ।
'यो जितले पनि उपाधिको दौडमा हामीलाई अझै गार्हो छ,' उनले भने, 'आज स्ट्राइकीङ जोनमा राम्रो भयो । तर, लगातारको खेलले गार्हो भयो । अबको खेलमा शतप्रतिशत दिएर खेल्छौं ।'
आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले स्कोर निस्कन नसक्दा पराजित भएको बताए ।
'सुरुमा सोचेजस्तो भएको थियो । उनिहरुले आफ्नो गेम खेल्यो । गोल स्कोरको अवसर थियो तर स्कोर निस्कन सकेन त्यसले प्रेसर भयो,' उनले भने, 'खेलाडी नर्मस भए । झन गोलले नर्मस भयो । फिनिसिङमा चुक्यौं ।'