काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले साविक विजेता एपीएफले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले २-० को अग्रता बनाएको छ ।
एपीएफका लागि खेलको २७ औं मिनेटमा अन्जली कुमारी योन्जनले गोल गरिन् ।
साबित्रा भण्डारीले मिलाएको पासमा अन्जली बायाँ खुट्टाले दोस्रो बारमा आकर्षण गोल गरिन् ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा सरु लिम्बुले गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाएकी छिन् ।
सरुले पनि साबित्राको पासलाई सदुपयोग गरिन् ।
आज एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।
दोस्रो खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७-० ले हराएको थियो ।
एपीएफ २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आर्मी दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७-० ले हराएको थियो ।
आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।