काठमाडौं । उपाधि दाबेदार नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा बराबरी खेल्दै अंक बाडेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकासँग १-१ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ दुबै टोलीले गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने वालिङले बनाएको थियो ।
विदेशी खेलाडी मिथो रुथले ५३ औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।
उनले एकल प्रयासमा डिबक्स भित्रबाट गोलरक्षक उषा नाथलाई बिट गर्दै गोल गरेकी थिइन् । पुलिसविरुद्ध वालिङले तीन क्यामरुनी खेलाडी मैदान उतारेकी थिइन् ।
तर, खेलको ६५ औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काईन् । अमृता जैसीले उपलब्ध गराएको फ्रिकिक बलमा रेखाले भली गोल गर्दै पुलिसलाई हारबाट जोगाएकी हुन् ।
खेलमा वालिङकी अमिशा कार्की प्लेयर अफ दि म्याच बनिन् ।
बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । पुलिस तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, दोस्रो खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।
वालिङको यो दोस्रो बराबरी हो । वालिङले ३ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा वालिङ आर्मीसँग ७-० ले पराजित भएको थियो ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक सन्जिब जोशीले खेल्न नसक्दा बराबरीमा रोकिएको बताए ।
'आजको खेलमा चुकेका छौँ । खेलाडीले खेल्न सकेन । धेरै मिस भयो । हाम्रो भन्दा विदेशीको फिजिकल राम्रो देखियो ,' उनले भने ।
वालिङका प्रशिक्षक दिलिप थापाले खेल सोचेको जस्तै भएको प्रतिक्रिया दिए ।
'यस अघि तालमेलमा चुकेका थियौं । आज सोचे जस्तो खेल भयो । विदेशी खेलाडीसँग सुरुमा तालमेल मिल्न सकेन । आज केही राम्रो भयो,' उनले भने, 'खेल तलमाथी छ हाम्रो खेलाडी र उनीहरुबीच । धेरै अन्तर छ खेलमा । आज राम्रो भयो ।'