एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सानदार जित निकालेको छ ।
सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेपनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।
तर,खेलको १२ औं मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काए ।

खेलको २९ औं मिनेटमा गेटाफेका जेमी माटाले पेनाल्टीमा गोल गर्न सकेनन् ।
खेलको ५० औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २-१ को अग्रता दिलाए ।
गार्सियाले खेलको ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३-१ ले अघि रह्यो ।
खेलको ७५ औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा ओस्कर डि मार्काेसले गोल गर्दा बिल्बाओ ५-१ ले विजयी भयो ।
जितसंगै बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । बिल्बाओले २४ अंक जोडेको छ ।
गेटाफे २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।