काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिस र वालिङबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
वालिङविरुद्ध मैदान उत्रदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, दोस्रो खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।
पुलिस २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
वालिङ भने पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा वालिङ आर्मीसँग ७-० ले पराजित भएको थियो ।
वालिङको २ खेलमा १ अंक रहेको छ ।
यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
एपीएफ र आर्मीबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।
दोस्रो खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७-० ले हराएको थियो ।
एपीएफ २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आर्मी दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७-० ले हराएको थियो ।
आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।