काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो ।
चन्द्रपुरको जितमा सबिता राना मगरले ह्याट्रिक गरिन् । यस्तै दिल कुमारी राना मगरले दुई गोल गरिन् । रजनी थोकर र सुनिता भोलानले एक एक गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् ।
खेलमा सुरुवाती अग्रता भने चौदण्डीले बनाएको थियो ।
खेलको २३ औं मिनेटमा अन्जनाले गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएकी थिइन् । सरस्वती चौधरीले डिबक्सको लाइनमा उपलब्ध गराएको बललाई अन्जनाले दोस्रो बार च्याप्दै सहज गोल गरेकी थिइन् ।
तर, पहिलो हाफको इन्जुरी समयमा दिल कुमारीले गोल गर्दै चन्द्रपुरलाई १-१ गोलको बराबरी फर्काएकी थिइन् । सबिता राना मगरले कर्नर मार्फत उपलब्ध गराएको बललाई दिल कुमारीले सिक्स यार्ड बक्सबाट गोल गरेकी थिइन् ।
दोस्रो हाफमा चन्द्रपुरले एकतर्फी खेल पस्कियो ।
खेलको ४७ औं मिनेटमा रजनीले गोल गर्दै चन्द्रपुरलाई २-१ को अग्रता दिलाईन् । डिबक्स भित्र प्राप्त बललाई उनले टप कर्नरमा आकर्षण गोल गरिन् ।
खेलको ५१ औं मिनेटमा सबिताले गोल गर्दा चन्द्रपुरले ३-१ को अग्रता बनायो । रजनीको प्रहारलाई चौदण्डीकी गोलकिपर देविका श्रेष्ठले रोकेकी थिइन् । तर, डिफेन्स र गोलकिपरबीचको तालमेल नमिल्दा सिक्स यार्ड बक्स भित्र रहेकी सबिताले गोल गरिन् ।
खेलको ६९ औं मिनेटमा चन्द्रपुरले ४-१ को अग्रता बनायो । डिबक्स भित्र प्राप्त बललाई सबिताले चौदण्डीकी गोलकिपर देविकालाई वान भर्सेस वानको स्थितिमा बिट गर्दै गोल गरिन् ।
खेलको ७८ औं मिनेटमा सबिताले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा चन्द्रपुर ५-१ को अग्रता बनायो । करिब ३० यार्डबाट बल बढाएकी सबिताले गोलकिपर देविकासँगको वान भर्सेस वानमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।
खेलको ८५ औं मिनेटमा सब्सिच्युट खेलाडी सुनिताले गोल गर्दै चन्द्रपुरलाई ६-१ को अग्रता दिलाईन् ।
त्यसपछि खेलको इन्जुरी समयमा दिलकुमारीले व्यक्तिगत दोस्रो गोल गर्दै चन्द्रपुरलाई ७-१ को जित दिलाईन् ।
जितसंगै चन्द्रपुरले २ खेलमा ३ अंक जोडेको छ ।
पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।
चौदण्डीको यो लगातार दोस्रो हार हो ।
चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको थियो ।

के भन्छन् प्रशिक्षक ?
चन्द्रपुरका मुख्य प्रशिक्षक नुरराज काफ्लेले विपक्षी टिममा स्टार खेलाडी नभएको कारण जित निकाल्न सहज भएको बताए ।
'हाम्रो खेलाडीमा एपीएफ भन्ने बित्तिकै मनोबल गिर्ने गर्छ । अघिल्लो खेलमा त्यहिँ भयो । आज स्टार नभएर हाम्रो प्रदर्शन हाई भयो,' उनले भने, 'पहिलो खेलमा बराबरीको लागि डिफेन्सिभ खेलेका थियौं । आज विपक्षी बराबर भएपछि तालमेल नि मिल्यो मनोबल पनि बढ्यो । राम्रो नतिजा आयो ।'
चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले सामान्य गल्तिको कारण हार व्यहोर्नु परेको बताए ।
'पहिलो खेलमा पुलिससँग डिफेन्स खेल खेलका थियौं । पहिलो खेलमा तालमेल नमिल्दा हार्न बाध्य भयौं । आज अट्याकिङ थियो । सुरुमा अग्रता बनायौं तर जोगाउन सकेनौं । सिल्ली मिस्टेकले गोल खायौं,' उनले भने, 'डिफेन्स र मिडफिल्डरमा तालमेल भएन ।'