एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले क्लब सहि दिशामै रहेको बताएका छन् ।
एफए कप अन्तर्गत चौंथो चरणमा म्यानचेस्टर युनाईटेडसँग पराजित भएपछि बोल्दै क्लोपले क्लब सहि दिशामै रहेको र चिन्ता गर्नु पर्ने अवस्था नभएको बताएका हुन् ।
आइतबार राति भएको खेलमा लिभरपुल युनाईटेडसँग ३-२ ले पराजित हुँदै एफए कपबाट बाहिरिएको थियो ।
'मैले सहि दिशामा धेरै चरणहरू देखेको थिएँ र त्यो सबै राम्रो छ,' क्लोपले भने, 'तपाईले हाम्रो चिन्ता लिनु पर्दैन, एउटा समूहको रूपमा हामी वास्तवमै सँगै छौं।'
ओल्ड ट्राफोर्डमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल पराजित भएको हो ।
लिभरपुलका लागि मोहमद सलाहले दुई गोल गरेका थिए । युनाईटेडका मासन ग्रीनउड, मार्कुस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरेका थिए ।
'हामीले यो हामीले चाहेको होइन । त्यसैले हामी निराश छौँ । हामी हाम्रो शीर्ष स्तरमा थिएनौ । तर, हामीले सहि दिशामा धेरै कदमहरू बनाएका छौँ,' क्लोपले थपे ।
प्रिमियर लिगमा समेत लिभरपुलले खराब खेलिरहेको छ । साविक विजेता लिभरपुल तेस्रो स्थानमा रहेको छ ।
लिगमा लिभरपुल शीर्ष स्थानको युनाईटेड भन्दा ६ अंकले पछि रहेको छ ।