काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ३-० को अग्रता बनाएको छ ।
आर्मीका लागि विमला चौधरी, दिपा राई र शर्मिला थापाले एक एक गोल गरिन् ।
तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङविरुद्ध आर्मीले १४ औं मिनेटमा अग्रता बनाएको थियो । शर्मिला थापाको क्रस पासमा विमला चौधरीले गोल गरेकी थिइन् ।
खेलको २८ औं मिनेटमा दिपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । सपना लामाले उपलब्ध गराएको पासमा दिपाले वालिङकी गोलकिपर सावित्री किशनलाई बिट गर्दै गोल गरेकी थिइन् ।
यस्तै खेलको ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३-० ले अघि रहेको हो । बिमला चौधरीले प्रहार गरेको बल वालिङकी गोलकिपर सावित्रीले नियन्त्रणमा लिन नसकेको बलमा शर्मिलाले गोल गरेकी हुन् ।
आज आर्मी पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा आर्मी नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो ।