एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
एफए कप अन्तर्गत शनिबार राति भएको चौंथो चरणमा चेल्टनहम टाउनमाथि ३-१ को जित निकाल्दै सिटीले अर्को चरणमा स्थान बनाएको हो ।
लिग टु क्लब चेल्टनहमविरुद्ध एक गोलले पछि परेपनि सिटीले पुनरागमन जित निकालेको हो ।
खेलको ५९ औं मिनेटमा अल्फी मेले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए ।
तर, ८१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८४ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।
अब सिटीले पाँचौं चरणमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीसँग खेल्नेछ ।
प्रिमियर लिग क्लब ब्राइटन र वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेका छन् ।
