काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
आर्मी र वालिङबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा आर्मी नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो ।
यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले विरानगरसँग प्रतिस्पर्धा गर्नेछ ।
एपीएफ र विराटनगरबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
एपीएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।
विराटनगर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।