पोखरा । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतको बाँकी खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले पोखरामा प्रशिक्षण गरिरहेको छ ।
बिहीबार पोखरा पुगेको नेपाली टोलीले पोखरा रंगशालामा शुक्रबारबाट प्रशिक्षण गरिरहेको छ ।
नेपाली टोलीले यस अघि दशरथ रंगशाला र एन्फा मैदानमा प्रशिक्षण गरेको थियो । तर, काठमाडौंमा महिला लिग सुरु भएपछि नेपाली टोली तयारीका लागि पोखरा आएको हो ।
नेपाली टोलीले माघ २१ गतेसम्म पोखरामा तयारी गर्नेछ ।
पोखरामा तयारी गर्न पाउदा नेपाली टिम उत्साहित देखिएका छन् । तर, नेपाली टोलीले भने वैदेशिक प्रशिक्षणको आवश्यकता महसुस गरेका छन् ।
नेपाली टोलीका कप्तान विराज महर्जनले तयारीका लागि पोखरा आउँन पाउदा उत्साहित भएको तर टोलीलाई वैदेशिक प्रशिक्षणको अभाव भएको बताए ।
‘मलाई लाग्छ टिमको मनोवल बढाउन विदेशी खेलाडीसँग प्रशिक्षण गर्न आवश्यक देखिन्छ । यसले खेलाडीलाई अभ्यासमा सहयोग हुन्थ्यो’, विराजले भने ।

कप्तान विराजले पोखराको वातावरणमा गरिएको प्रशिक्षणले छनोट खेलमा सुखद नतिजा आउनेमा विश्वस्त रहेको समेत बताए । उनले राष्ट्रिय खेलकुद परिषद्ले तत्काल नै खेलाडीका लागि आवश्यक पर्ने प्रशिक्षणमा ध्यान दिन आग्रह समेत गरे ।
यस्तै नेपाली टिमका कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले पोखराको मैदानमा आएर प्रशिक्षण गर्न पाउँदा टिमको मनोवल उच्च रहेको बताए । सुविधा सम्पन्न मैदानमा आएर खेलाडीले प्रशिक्षण गर्न पाँउदा टिमको प्रर्दशनमा सुधार आउने उनको भनाइ छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

यस्तै प्रशिक्षणका लागि पोखरा आएको राष्ट्रिय फुटबल टोलीलाई शनिबार पोखरा रंगशालामा स्वागत गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले आज शनिबार पोखरा रंगशालामा एक कार्यक्रमको आयोजना गरि पोखरामा प्रशिक्षणरत फुटबल, आर्चरी र भारोत्तोलनका खेलाडीलाई स्वागत गरेको हो ।
हाल रंगशालामा राष्ट्रिय फुटबल टोलीसँगै जापानमा आयोजना हुने ओलम्पिक खेलको तयारीका लागि आर्चरी र भारोत्तोलनको टिम पोखरामा प्रशिक्षणमा रहेको छ ।
स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले प्रशिक्षण गरे बराबरको प्रतिफल दिन खेलाडी समक्ष अपेक्षा राखेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्य राजेश कुमार गुरुङले राष्ट्रिय खेलाडीहरुलाई गण्डकी प्रदेशको राजधानी पोखरामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।