हेटौंडा । विजय युथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता पूर्व निर्धारित समय भन्दा ६ दिन अगावै सुरु हुने भएको छ ।
आयोजक विजय युथ क्लबले प्रतियोगिता तोकिएको मिति भन्दा ६ दिन अगाडीबाट सुरु हुने जनाएको छ ।
प्रतियोगिता माघ २२ गतेबाट हुने तालिका रहेको थियो । तर, अब प्रतियोगिता माघ १६ गतेबाट सुरु हुनेछ ।
फरेष्ट्री क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता सोही क्याम्पसको विद्यार्थीको परीक्षाका कारण ६ दिन अगाडी गर्नुपर्ने भएको क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए ।
‘फरेष्ट्री क्याम्पसका विद्यार्थीहरुको परीक्षा परेको कारण २२ गतेबाट गर्ने भनिएको खेल १६ गतेबाटै सञ्चालन गर्नुपर्ने भएको छ’, अध्यक्ष राजबाहकले भने, ‘यस विषयमा हामीले सहभागी सम्पूर्ण क्लबलाई जानकारी गराइसकेका छौं । तयारी करिब अन्तिम चरणमा पुगेको छ ।’
प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाको १० टिमको सहभागिता रहनेछ ।
करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए ।