एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा डर्टमण्ड बोरुसिया मन्छेनग्लाडबाखसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।
मन्छेनग्लाडबाखको मैदानमा अर्लिङ हालाण्डले दुई गोल गरेपनि डर्टमण्ड पराजित भएको हो ।
खेलको ११ औं मिनेटमा निको इल्भेदीले गोल गर्दै खेल घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको २२ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

हालाण्डले २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-१ को अग्रता बनायो ।
तर, खेलको ३२ औं मिनेटमा निकोले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-२ को बराबरीमा फर्काए ।
खेलको ४९ औं मिनेटमा रामे बेन्सेबानीले गोल गर्दा मन्छेनग्लाडबाख ३-२ ले अघि रह्यो ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मार्कुस थुरमले गोल गर्दा मन्छेनग्लाडबाख ४-२ ले विजयी भयो ।
जितसंगै मन्छेनग्लाडबाखले १८ खेलमा ३१ अंक जोडेको छ । मन्छेनग्लाडबाख चौंथो स्थानमा उक्लिएको छ ।
डर्टमण्ड २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।