नेपालगन्ज । स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको उपाधि जयकिसान स्पोर्ट्स क्लब ‘ए’ ले जितेको छ ।
शुक्रबार भएको फाइनलमा मसुरिया फुटबल एकेडेमीलाई २-० ले हराउँदै जयकिसानले उपाधि उचालेको हो ।
जयकिसानको जितमा बिक्रमसिंह ठकुरीले दुई गोल गरे ।
खेलको ३७ औं मिनेटमा बिक्रमले गोल गर्दै जयकिसानलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जयकिसानलाई २-० को जित दिलाए ।
उपाधिसंगै जयकिसानले १ लाख ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता बनेको मसुरिया एकेडेमीले ५५ हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मसुरिया एकेडेमीका दिवस बोहोरा चुनिए ।
यस्तै उत्कृष्ट गोलकिपरमा जयकिसानका सुजित विसी र सर्वाधिक गोलकर्ता जयकिसानका बिक्रमसिंह ठकरी बने ।
विजेता टोलीलाई बाँके बर्दिया मैत्री समाजका सरक्षक दीपक शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्रविक्रम थापा ‘पुकार’ र क्लबका अध्यक्ष दीपु रानालगायतले पुरस्कृत गरे ।
जयकिसान स्पोर्ट्स क्बलको आयोजना भएको प्रतियोगितामा भारतका २ टिमसहित १७ टिमले सहभागिता जनाएका थिए ।