काठमाडौं । टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको सेममिफाइनल समिकरण पुरा भएको छ ।
शुक्रबार समूह ‘बी’ बाट वडा नम्वर २ समूह विजेता र वडा नम्वर ८ समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको हो ।
यसअघि समूह ‘ए’ बाट वडा नम्वर ३ र वडा नम्वर ६ सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम दिन शुक्रबार वडा नम्वर २ ले प्रतियोगिताबाट बाहिरिसकेको वडा नम्वर ४ माथि ६–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो ।
टोखास्थित भुतखेल मैदानमा वडा नम्वर २ को फराकिलो जितमा सरोज श्रेष्ठले ह्याट्रिक पुरा गरे । रविन्द्र डंगोलले दुई गाल गर्दा दिनेश डंगोलले एक गोल थपे ।
शुक्रबारै भएको लिग चरणको अन्तिम खेलमा वडा नम्वर ८ र १ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा ८ समूह उपविजेताको रुपमा अघ बढ्यो । १ का सन्तोष अधिकारीले गोल गर्दा ८ का गौतम बानियाँले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । यो बराबरीले वडा नम्वर १ पनि यो समूहबाट समूह चरणबाटै बाहिरिएको छ ।
अब सेमिफाइनलमा समूह ‘ए’ विजेता ३ र समूह ‘बी’ को उपविजेता ८ तथा समूह ‘बी’ को विजेता २ र ‘ए’ को उपविजेता ६ बीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल आइतबार हुने आयोजक एसडी ९९ स्पोर्टस् कर्नरले जनाएको छ । फाइनल मंगलबार हुनेछ ।
प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।