विक्रम बुढाक्षेत्री
नेपालगन्ज । बाँकेको पश्चिम क्षेत्र खजुरा शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता पूर्वाधारमा जिल्लाकै अब्बल मानिन्छ ।
खेलकुदमा त झन खजुरा अगाडी बढ्दै गएको छ । विगतमा खेलाडी उत्पादन गर्ने क्षेत्र हो खजुरा । अहिले पूर्वाधारमा अगाडी बढिरहेको छ । खजुराले आधुनिक विकासको गतिलाई पछयाउने प्रयास गरिरहेको छ ।
विकाससँगै खजुरालाई पिरोल्ने विषय पनि छन्, युवा शंक्ति पलायन र लागूऔषधको बढ्दो प्रयोग । जसले समाजका युवाहरुको शंक्तिलाई कमजोर बनाइदिँदै छ ।
युवाहरुमा सकारात्मक परिवर्तन ल्याउनका लागि पछिल्लो समय खजुरा क्षेत्रमा खेलकुदका थुप्रै कार्यक्रम भैरहेका छन् । जसले युवाहरुमा जिम्मेवारी र सामाजिक भावनाको विकास गराउन सहयोग गरिरहेको छ ।
खजुराको गौघाटमा हुने एउटा भलिबल प्रतियोगितालाई युवाहरुको भावना र मानसिक विकाससँग जोडेर आयोजना गरिँदैछ । जुन योगिनी कप अन्तर क्लब भलिबल प्रतियोगिता हो। युवाहरुमा नयाँ जोस र जाँगर उत्पन्न गराउने प्रतियोगिताको प्रमुख उद्देश्य छ ।
खजुराको समाजसँग जोडिँदैछन्, खेलकुदका प्रतियोगिता । योगिनी कपमात्र होइन खजुरामा वर्षमा दर्जनभन्दा बढी प्रतियोगिता हुने गरेका छन् । जसले यस क्षेत्रमा थप नयाँ प्रतियोगिता थपिँदै गएका छन् ।
पछिल्लो समय थपिने नयाँ प्रतियोगिता हो, योगिनी कप भलिबल । यस प्रतियोगिता माघको पहिलो साता खजुरा गाउँपालिका–२, गौघाटमा प्रतियोगिता संचालन गर्ने तयारी भइरहेको छ ।
खजुरा गाउँपालिकामा हुने प्रतियोगिता योगिनी युवा क्लब र रंगशाला नेपाल मिडिया प्रालिको संयुक्त आयोजनामा हुँदैछ । जसलाई बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गर्नेछ ।
प्रतियोगितामा खजुरा गाउँपालिका र सहयोगी आवाज (हिभ) नेपालको पनि समन्वय रहने योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले जानकारी दिए ।
सामुदायिकस्तरबाट भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गर्न लागेको अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाले गौघाट क्षेत्र भलिबल खेलका लागि चर्चित गाउँ भएको बताउँदै गौघाट क्षेत्रमा फेरि भलिबलको सुरुवात हुन लागेको बताए ।
प्रतियोगितामा १० टिमको सहभागिता हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, उपविजेताले १० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन् ।
सर्वोत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट खेलाडीले १-१ हजारसहित मेडल ट्रफी र प्रमाणपत्र पाउँने छन् ।
प्रतियोगिता संरक्षक उमेश निरौलाले योगिनी कपले त्यस क्षेत्रमा खेलकुदको माध्यमबाट सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने, ‘क्लबले लकडाउनको समयमा पनि सामाजिक काम गरेको थियो । अहिले खेलकुद प्रतियोगिता गर्ने तयारी गरेको छ । यसले युवालाई सामाजिक भावना विकास गराउँदै सकारात्मक काम गर्ने उर्जा थप्छ । प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रले सहयोग गर्नु पर्छ ।’
कार्यक्रममा उपस्थित बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताका लागि संघ तथा व्यक्तिगत रुपमा साथ, सहयोग र सल्लाह दिने बताए । ठकुरीले भलिबल प्रतियोगिताले निरन्तरता पाउनेपर्नेमा जोड दिए ।
‘पहिलोपटक योगिनी क्लब र रंगशाला नेपाल मिडियाले भलिबल प्रतियोगिता आयोजना गर्दैछ । बाँकेमा हुने धेरै प्रतियोगिताले निरन्तरता पाउन सकेका छैनन् । तर यो भलिबल प्रतियोगिताले निरन्तरता पाओस । जसको लागि संघ र मेरो तर्फबाट सधैं साथ, सहयोग र सल्लाह मिल्नेछ,’ ठकुरीले भने ।