एजेन्सी । नेपाली अलराउण्डर सोमपाल कामीले मराठा अरबियन्सबाट टी टेन लिग खेल्ने भएका छन् ।
आबुधाबीमा बुधबार बेलुका भएको ड्राफ्टमा उनलाई मराठाले अनुबन्धन गरेको छ ।
अनुबन्धन भएसंगै चौथो संस्करणको टी टेन लिगमा सोमपालले खेल्ने पक्का भएको हो ।
टी टेन लिग खेल्ने साेमपाल तेस्रो नेपाली खेलाडी बनेका छन् ।
यसअघि नेपालका सन्दीप लामिछाने र पारस खड्काले टी टेन लिगमा खेलिसकेका छन् ।
यस्तै कुशल मल्ल समेत टी–टेनमा अनुबन्धन भएका छन् ।
उनलाई अबुधाबीले नयाँ सिजनका लागि अनुबन्धन गरेको हो ।
पारस अबुधाबी टिमका इमर्जिङ ट्यालेन्ट मेन्टर हुन् । कुशल पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन् ।
आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ ।
टी टेन लिगमा डेकन ग्ल्याडीयटर्स, दिल्ली ब्लुज, मराठा अरबियन्स, नर्दन वारियार्स, टिम आबुधाबी, बंगला टाइगर्स, पुने डेभिल्स र कलान्दर्स सहभागी रहेका छन् ।
प्रतियोगितामा सहभागी ८ टिमलाई दूई समुहमा विभाजन गरिएको छ ।
समुह 'ए' मा मराठा अरबियन्स, बंगला टाइगर्स, पुने डेभिल्स र नर्दन वारियार्स रहेका छन् । यस्तै समुह 'बी' मा डेकन ग्ल्याडीयटर्स, टिम आबुधाबी, कलान्दर्स र दिल्ली ब्लुज रहेका छन् ।
सन्दीप लामिछाने गोल्ड क्याटागोरीमा रहेका छन् ।