काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामाको खुट्टाको चोट पुन बल्झिएको छ ।
करिब तीन वर्ष अघि खेल्ने क्रममा दाहिने खुट्टा भाँचिएपछि बिक्रमले शल्यक्रिया गरेका थिए ।
शल्यक्रिया गरेको स्थानमा पीडा हुन थालेपछि बिक्रमले पुन: उपचारको तयारी थालेका छन् । उनले अन्तिम पटक पुन: खुट्टाको शल्यक्रिया गर्ने तयारी गरेको खेलपाटीलाई बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार घोषणा गरेको ५८ खेलाडीको सूचीमा बिक्रम छैनन् । उनले खुट्टाको उपचारका लागि केही समय लाग्ने जानकारी एन्फामा गराएका छन् । सोही कारण बिक्रमलाई आराम दिदै एन्फाले प्रारम्भिक ५८ खेलाडी राष्ट्रिय टिमका लागि बोलाएको हो ।
‘शल्यक्रिया गरेको स्थानमा दुख्न थालेको छ । अन्तिम पटक पुन: शल्यक्रिया गरेर उपचार गर्ने तयारी छ ।’ बिक्रमले खेलपाटीसंग भने ।

थ्री स्टारका कप्तान समेत रहेको बिक्रमले अन्तिम पटक विदेश गएर खुट्टाको शल्यक्रिया गर्न चाहेका छन् । उनले सहयोगका लागि एन्फालाई समेत आग्रह गरेका छन् ।
एन्फाले गम्भिर चोट बोकेका राष्ट्रिय टिमका खेलाडीलाई कतारमा उपचारका लागि पठाउने गरेको छ ।
राष्ट्रिय फुटबल टिमबाट चार वटा स्वर्ण जितेका बिक्रमले उपचारका लागि पहल गरिदिन एन्फासंग आग्रह समेत गरेका छन् ।
२०७४ सालको चैतमा भएको बुढासुब्बा गोल्डकपको उपाधि भिडन्त खेलको दौरान बिक्रमको दायाँ खुट्टा भाँचिएको थियो । पुलिसका तेज तामाङसंग ठोक्किएपछि उनले चोट बोकेका थिए ।
क्लबले तत्काल उनलाई ह्वाई जहाजबाट काठमाडौंमा लगेर ग्रान्डी अस्पतालमा भर्ना गर्यो र शल्यक्रियाको प्रक्रिया अघि बढायो । डा चक्रराज पाण्डेको टिमले बिक्रमको चोटको सफल शल्यक्रिया गरेको थियो ।
चोट बोकेको झण्डै ९ महिनापछि बिक्रमले फुटबलमा पुनरागमन गरेका थिए । उनले ए डिभिजन लिग हुँदै राष्ट्रिय फुटबल टिमसम्मै पुनरागमन गरे । गत महिना मात्र बंगलादेशबिरुद्ध भएको मैत्रीपूर्ण खेलमा पनि बिक्रमले चोट बोकेका थिए ।

उनले आफ्नो चोटबारे एन्फाको प्राविधिक टिमलाई जानकारी गराएको बताएका छन् । उनले तत्काल उपचार भएको खण्डमा दुई महिनामा फुटबलमा फर्कन सकिने विश्वास ब्यक्त गरे ।
‘चोट बोकेर केही समय मैदानमा खेल्न सक्ने अवस्था छ । तर जोखिम लिन हुदैन भन्ने लागेको छ । अझै केही वर्ष राष्ट्रको सेवा गर्ने लक्ष्य छ । अन्तिम पटक शल्यक्रिया गरेर फुटबलमा फर्कने सोच बनाएको छु ।’ बिक्रमले भने ।
बिक्रमले गत वर्षमात्र नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलमा स्वर्ण जितेका थिए । अन्तिम खेलमा सुजल श्रेष्ठ घाईते भएपछि बिक्रमले नेपाली टिमको कप्तानी गरेका थिए ।