काठमाडौं । बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।
नेपाली टिम बिहिबार दिउँसो नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
नेपालले ढाकामा ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।
मंगलबार भएको दोस्रो मैत्रीपूर्णमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।
दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।
अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।
समूह 'बी' मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
