एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले आइसल्याण्डमाथि सहज जित निकालेको छ ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्यान्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट र डिक्लान राइसले एक एक गोल गरे ।
खेलको २० औं मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डको अग्रता २-० को बनाए ।

५४ औं मिनेटमा बिर्किर सेभर्सनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आइसल्याण्ड १० खेलाडीमा समेटियो ।
खेलको ८० औं मिनेटमा फोडेनले गोल गर्दा इंग्ल्यान्ड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४-० को सहज जित दिलाए ।
जितसँगै लिग 'ए' समूह बीको इंग्ल्यान्डले ६ खेलमा १० अंक जोड्यो ।
आइसल्याण्डले ६ खेलमा अंक जोड्न सकेन् । आइसल्याण्ड यस समूहबाट रेलिगेसनमा परेको छ ।
अर्को सिजन आइसल्याण्ड बी लिगमा हुनेछ ।
