एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । लोरी सानेको नाममा एक गोल रह्यो ।
युक्रेनका रोमन यारिमचुकले एक गोल फर्काए ।
सुरुवाती अग्रता भने युक्रेनले बनाएको थियो । खेलको १२ औं मिनेटमा रोमनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर,२३ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३३ औं मिनेटमा वेर्नेरले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-१ को जित दिलाए ।
जितसँगै जर्मनीले नेसन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
लिग 'ए' समूह ४ को शीर्ष स्थानमा रहेको जर्मनीले ५ खेलमा ९ अंक जोडेको छ ।
जर्मनीले अब समूह चरणको अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।
युक्रेन ६ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।