एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा स्पेन स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
कप्तान सर्जियो रामोसले बिर्सनलायक प्रदर्शन गर्दै दुई पेनाल्टी खेर फालेपछि स्पेन रोकिएको हो ।
तर, कप्तान रामोसले स्पेनका लागि १ सय ७७ औं खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडीको कीर्तिमानी बनाए ।
खेलको २६ औं मिनेटमा रिमो फ्रयूलरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा स्पेनले बराबरी गर्ने अवसर पायो । तर, रिकार्डो रोड्रिगेजले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रामोस गोल गर्न चुके ।
उनको प्रहार घरेलु टोलीका गोलकिपर यान सोमरले बचाए ।
७९ औं मिनेटमा निको इल्भेदीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो ।

अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रमा लडाएपछि निकोले कार्ड पाएका थिए । र, स्पेनले ८० औं मिनेटमा पुन: पेनाल्टी पाएको थियो ।
उक्त अवसरमा कप्तान रामोस फेरी गोल गर्न चुके । उनको दोस्रो प्रहार पनि गोलकिपर सोमरले बचाए ।
तर, खेलको ७९ औं मिनेटमा जेर्राड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए ।
बराबरीसँगै लिग 'ए' समूह ४ मा स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।
स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्पेनको अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
स्विट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा रहेको छ ।