एजेन्सी । इटाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक् रोबर्टो मान्सिनीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इटाली फुटबल फेडेरसनले मुख्य प्रशिक्षक मान्सिनीलाई कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिएपछि उनी रोममा सेल्फ आईसोलेसनमा बसेको समेत इटाली फुटबलले जनाएको छ ।
५५ वर्षीय मान्सिनीको टिम इटालीले आगामी साता तीन अन्तराष्ट्रिय खेल खेल्दैछ ।
इटालीले घरेलु मैदानमा बुधबार इस्टोनियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेसन्स लिग अन्तर्गत पोल्याण्ड र बोस्नियासँग खेल्ने तालिका रहेको छ ।
मान्सिनीले २०१८ बाट इटालीको टिम हेर्न थालेका हुन् । इटाली सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएपछि उनी मुख्य प्रशिक्षक बनेका थिए ।
मान्सिनीको नेतृत्वमा इटालीले युरोकप छनोटको १० खेलमा १० जित निकालेको छ ।
त्यसअघि उनी म्यानचेस्टर सिटी र इन्टर मिलानको मुख्य प्रशिक्षक रहेका थिए ।