काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब थ्री स्टारका एक खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
शीर्ष डिभिजनको लिगसहित मोफसलको प्रतियोगिता खेलिसकेका एक खेलाडीलाई कोरोना देखिएको हो ।
‘हाम्रा एक खेलाडीलाई कोरोना संक्रमण देखिएको छ,’ थ्री स्टारका एक पदाधिकारीले भने,'५ दिन अघि स्वाव दिएका थिए । बुधबार रिपोर्ट पोजिटिभ आयो ।’
संक्रमण देखिएका खेलाडी घरमै सेल्फ आईसोलेशनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको ती पदाधिकारीले बताए ।
कोरोना संक्रमण देखिएका खेलाडी थ्री स्टारको यू-१८ टिमबाट समेत खेलिसकेका छन् । तर, संक्रमित खेलाडीको नाम गोप्य राखिएको छ ।
थ्री स्टारको खेलाडीमा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो ।
यस अघि 'ए' डिभिजन लिगमा एपीएफबाट खेलेका खेलाडी, व्रिगेड ब्वाईज क्लब (बीबीसी) का विदेशी खेलाडी र न्यूरोड टिम एनआरटीबाट खेल्ने खेलाडीलाई कोरोना संक्रमण देखिएको थियो ।
यस अघि संक्रमित सबै खेलाडी कोरोनाबाट मुक्त भईसकेका छन् ।
कोरोनाको कारण नेपालमा फुटबलका सम्पूर्ण गतिविधि ठप्प रहेको छ । राष्ट्रिय टिमको तयारी समेत सुरु हुन सकेको छैन ।