म्यान्चेष्टर शहरका दुवै क्लब क्वार्टरफाइनलमा

एजेन्सी । म्यान्चेष्टर शहरका दुवै क्लब कारबाओ कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छन् ।
बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले वर्नलीलाई र म्यान्चेष्टर युनाइटेडले ब्राइटनलाई समान ३–० गोल अन्तरले हराए ।
रहिम स्टर्लिङको दुई गोल र फेरान टोरेसको एक गोलको सहयोगमा सिटीले वर्नलीलाई निराश बनायो ।
वर्नलीका किपर बेली पिककले स्टर्लिङका दुई प्रहारलाई बचाउ गर्दै सूरुवातमा सिटीलाई निराश पारेका थिए । तर बेन्जामिन मेन्डीको क्रसलाई सदुपयोग गर्दै स्टर्लिङले ३५ औं मिनेटमा सिटीलाई अग्रता दिलाए ।
फेरान टोरेसको पासलाई सदुपयोग गर्दै ४९ औं मिनेटमा स्टर्लिङले सिटीको अग्रता दोब्बर बनाए । उनै स्टर्लिङले पासमा टोरेसले सिटीका लागि तेस्रो गोल गरेका थिए ।
गत हप्तामात्र सिटी घरेलु मैदानमा लेस्टर सिटीसंग ५–२ ले पराजित बनेको थियो ।
सिटीले अन्तिम ८ को खेलमा लिभरपुल वा आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ ।
अर्को खेलमा युनाइटेडले ब्राइटनलाई ३–० ले स्तब्ध पार्यो । पाउल पोग्बाले फ्रि–किकमा गोल गरेको खेलमा युनाइटेडले चार दिनको अन्तरमा ब्राइटनबिरुद्ध दोस्रो जित निकाल्यो ।
जुआन माटाको फ्रिकिक मार्फत प्राप्त पासलाई सदुपयोग गर्दै स्काट म्याकटोमिनेले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा माटाले भान डी विकको पासलाई सदुपयोग गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।
पोग्बाले खेल सकिन १० मिनेट अघि फ्रिकिकमार्फत युनाइटेडका लागि तेस्रो गोल गरेका थिए ।