एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा मुम्बई र बैंगलोर तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला दुबै खेलमा दुई टोलीले एक जित र एक हार व्यहोरेका थिए ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई बैंगलोरलाई सहजै हराउन चाहन्छ । तर, विराट कोहलीको टिमविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने छैन ।
बैंगलोर पनि साविक विजेताविरुद्ध जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।
यता, बैंगलोरले भने सनराईजर्स हैदराबादलाई १० रनले हराएर सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।
दुई टिमबीचको पछिल्लो पाँच भेटमा मुम्बई बलियो देखिएको छ । गत वर्ष भएको दुई भेटमा समेत मुम्बईले बाजी मारेको थियो ।
गत वर्ष पहिलो खेलमा मुम्बईले बैंगलोरलाई ६ रनले हराएको थियो । दोस्रो खेलमा मुम्बई ५ विकेटले विजयी भएको थियो ।
मुम्बईविरुद्ध बैंगलोरले कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनीलाई मैदान उतार्ने छ ।
मुम्बईले बैंगलोरविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन् ।