एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।
लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
२० औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-२ को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।
यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।
च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ । लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो ।
अर्को खेलमा न्युकासलले वेस्ट ह्यामलाई २-० ले हराएको छ । न्युकासलको जितमा कलुम विल्सन र जेफ हेन्ड्रिकले एक एक गोल गरे ।

