एजेन्सी । कम्युनिटी शिल्ड फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ ।
वेम्बली स्टेडियममा हुने फाइनलमा लिभरपुल र आर्सनल भिड्ने छन् । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
फाइनलका लागि मैदान उत्रदा दुबै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । दुबै टिम यस सिजन दोस्रो उपाधि जित्न चाहन्छ ।
'यो मैत्रीपूर्ण खेल हैन । यो आर्सनलविरुद्धको प्रतिस्पर्धा हो । हामी जित्न सबै प्रयास गर्ने छौँ र आर्सनलले पनि गर्नेछ,' क्लोपले भने ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।
लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो ।
आर्सनलले एफए कप जितेको थियो । आर्सनलले चेल्सीलाई हराएर कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले टिमले ठुला टिमलाई हराईसकेको बताउँदै लिभरपुलविरुद्ध समेत जित निकाल्ने बताए ।
'हामीलाई विश्वास छ कि शीर्ष टिमविरुद्ध चुनौती दिन र उनीहरुलाई हराउँन सक्छौ,' अर्टेटाले भने, 'हामी खेल जित्ने उपाय पत्ता लगाउछौँ । हामीले सिटी र चेल्सीविरुद्ध पुरा गर्यौं । यो क्षणका लागि टोलि सक्षम छ ।'
कम्युनिटी शिल्डमा लिभरपुल र आर्सनल चौथो पटक खेल्न लागेका हुन् । यस अघिका तीन भेटमा दुई खेल लिभरपुलले जितेको छ भने एक खेल आर्सनलले जितेको छ ।