एजेन्सी । च्याम्पियन्स लिग फुटबलको फाईनलमा पराजित भएपछि ब्राजिली स्टार नेयमार सम्हालिन सकेनन् ।
उपाधि भिडन्तमा जर्मन क्लब बायर्न म्युनिखसंग पराजित भएपछि नेयमारले मैदानमा आँशु झारे ।
उनलाई आफ्नै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का सहकर्मीले मात्र नभएर बायर्नका खेलाडीले समेत ढाडस दिएका थिए ।
तर नेयमारले आफ्नो आँशु रोक्न सकेनन् ।

पुरस्कार समारोहमा समेत उनी प्लेयर बक्समै रुदै बसेका थिए । क्लबका अफिसियलले उनलाई समारोहतर्फ डोर्याएका थिए ।
खेलपछिको औपचारिक कार्यक्रम अवधिभर नेयमारका आखाँ आँशुले रुझेका थिए ।
आफ्नै बलबुतामा च्याम्पियन्स लिग जिताउने लक्ष्य सहित नेयमार तीन बर्ष अघि विश्व कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पीएसजी आएका थिए ।
बार्सिलोनामा मेस्सी र लुईस सुआरेजको छायाबाट मुक्त हुँदै आफ्नै नेतृत्वमा च्याम्पियन्स लिग जित्ने नेयमारको चाहना थियो ।
नेयमार फ्रान्स आएपछि पीएसजी पहिलो पटक फाईनल पुगेको थियो । नेयमार ऐतिहासिक उपलब्धिको नजिक समेत थिए ।
तर फाईनलमा पीएसजीले खासै गतिलो प्रर्दशन गर्न सकेन ।

यसअघि मिलेको नेयमार र केलियन एम्बाप्पेको जोडी फाईनल खेलमा फिक्का साबित बन्यो ।
पीएसजी जर्मन क्लब बायर्न म्युनिखसंग पराजित हुँदै उपविजेतामै सिमित बन्यो ।
च्याम्पियन्स लिगको लक्ष्य सहित पीएसजीले विश्व कीर्तिमानी मुल्यमा नेयमार र एम्बाप्पेलाई क्लबमा राखेको थियो ।
तर युरोपेली क्लब फुटबलका सबैभन्दा उत्कृष्ट दुई खेलाडी च्याम्पियन्स लिगको फाईनलमा आफुलाई सिद्ध गर्न असफल रहे ।
गए राति पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पीएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।
उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् ।
पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए ।
खेलको १८ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलरक्षक नोयाले उत्कृष्ट बचाउ गरे ।
खेलको २२ औं मिनेटमा अग्रता बनाउन चुक्यो । रोबर्टो लेवान्डोस्कीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको थियो ।

बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो ।
यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।