काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीको कोरोना परिक्षण गरिएको छ ।
लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार ११ खेलाडीको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ ।
सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको छ ।

यस्तै फिजियो आविश्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको परिक्षण गरिएको छ ।
बाँकी खेलाडी र फिसियलको कोरोना परिक्षण मंगलबार गरिने जनाएको छ ।
विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।

फिफा विश्वकप २०२२ छनोट अन्तर्गत आगामी दिनमा नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रंगशालामा हुने तीन खेल असोज र कार्तिकमा आयोजना हुनेछ ।
नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दैछ भने त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनको आतिथ्यता प्रदान गर्नेछ ।
समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
