एजेन्सी । इंग्ल्यान्डका स्ट्राइकर जेमी भर्डी र डिफेन्डर ग्यारी काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
नयाँ खेलाडीलाई अवसर दिन भन्दै भर्डी र काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
स्ट्राइकर भर्डी र डिफेन्डर काहिलको सन्याससंगै प्रशिक्षक टिम साउथगेटलाई नयाँ खेलाडी टिममा ल्याउन सहज भएको छ । तर, दुवैले पूर्ण रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिएको बताएका छन् । दुवैले आवश्यक परेको बेला टोलीमा फर्कने बताएका छन् ।
लेष्टर सिटीका स्ट्राइकर भर्डीले २८ बर्षमा डेब्यु गर्दै इंग्ल्यान्डको टोलीबाट २६ खेल खेलेका छन् । सन् २०१५ मा आयरल्याण्डविरुद्ध डेब्यु गरेका भर्डीले रुस विश्वकप खेलेका थिए । विश्वकप लगत्तै भर्डीले आफु टिममा नरहने प्रशिक्षक साउथगेटलाई बताएका थिए ।
टिमलाई आवश्यक परेको खण्डमा टोलीमा फर्कने बताउदै ३१ बर्षिय भर्डीले गार्जियनसंग भनेका छन्, 'रुस विश्वकपमा युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । म अब युवा खेलाडी बन्न सक्दैन । किनकी मेरो उमेर ढल्दै गहिरहेको छ ।'
भर्डीले रुस विश्वकपमा चार खेल खेलेका थिए । रुसको विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।
त्यस्तै सन् २०१० मा इन्ग्लिश टोलीमा डेब्यु गरेका काहिलले राष्ट्रिय टोलीबाट ६१ खेल खेल्दै ५ गोल गरेका छन् । ३१ बर्षिय चेल्सीका डिफेन्डर काहिलले रुस विश्वकपमा एक खेल खेलका थिए । उक्त खेलमा इंग्ल्यान्ड बेल्जियमसंग १ – ० ले पराजित भएको थियो ।
'अहिलेको समय युवा पिढीमा गईरहेको मैले देखेको छु र मेरा लागि राष्ट्रिय टिमबाट छुट्टिने यो उपयुक्त समय हो,' काहिलले चेल्सी टिभीसंग भनेका छन्, 'राष्ट्रिय टिमका लागि खेल्न पाउनु मेरा लागी एक सम्मानको बिषय हो र मैले राष्ट्रिय टिमका लागि ढोका बन्द गर्ने छैन् । पक्कैपनि टिमलाई समस्या परेको अवस्थामा म टिममा फर्कने छु र खेल्नेछु । जुन सुकै समय म उपलब्ध हुनेछु ।'