एजेन्सी । सिरि ए फुटबलमा ईन्टर मिलानले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।
बुधबार राति घरेलु मैदानमा फियोरेन्टिनासंग गोल रहित बराबरी खेल्दै ईन्टर क्लबले एटलान्टालाई उछिन्ने मौका गुमाएको हो ।
ईन्टरको बराबरीसंग युभेन्ट्सको उपाधि सम्भावना बलियो बनेको छ । चार खेल खेल्न बाँकी युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जित्न मात्र एक जित अवश्यक छ ।
बिहिबार राति हुने खेलमा युडिनिजलाई पराजित गरेको खण्डमा शीर्ष स्थानको युभेन्ट्सले तालिकामा ९ अंकको अग्रता लिनेछ । र, तीन खेल अगावै युभेन्ट्सले लिग उपाधि हात पार्नेछ ।
रोमेलु लुकाकुले प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा ईन्टर जित निकाल्न असफल बन्यो ।
ईन्टर खेल अवधिभर हाबी देखिएको थियो तर उसले गोल निकाल्न भने सकेन ।
ईन्टर ७३ अंक जोड्दै तेस्रो स्थानमा यथावत रह्यो । एटलान्टा ७४ अंक सहित दोस्रो स्थानमा छ । फियोरेन्टिना ४३ अंक सहित तालिकाको १० औं स्थानमा रहेको छ ।