म विशेष होईन, भाग्यमानी हुँ - जिदान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदान जिदानले आफु विशेष प्रशिक्षक नभएर भाग्यमानी प्रशिक्षक भएको बताएका छन् ।
रियललाई ला लिगाको उपाधि दिलाएका प्रशिक्षक जिदानले आफु विशेष प्रशिक्षक नरहेको र आफुलाई भाग्यशाली ठान्ने गरेको बताएका हुन् ।
जिदानले रियललाई ३४ औं ला लिगा उपाधि दिलाएपछि उनलाई विशेष प्रशिक्षकको उपमा दिन सुरु गरिएको थियो । यस अघि यो उपाधि जोसे मोरिन्होले पाएका थिए ।
तर, जिदानले विशेष प्रशिक्षकको उपमालाई नकारेका छन् ।
'होईन, होईन, मैले त्यस्तो अनुभव गरेको छैन । ती खेलाडीसँग दैनिक रहदा मैले यहाँ भाग्यमानी अनुभव गरेको छु,' जिदानले भनेका छन् ।
फ्रान्सेली प्रशिक्षक जिदानले तीन वर्षपछि रियललाई ला लिगाको उपाधि दिलाएका हुन् । प्रशिक्षकको रुपमा उनको यो ११ औं उपाधि हो ।
यस अघि रियलले क्रिस्टियानो रोनाल्डो हुँदा सन् २०१६/१७ को सिजन उपाधि जितेको थियो ।
यस्तै प्रशिक्षक जिदानले यस उपाधि टिमको कारण सम्भव भएको बताए ।
'मलाई लाग्छ कि हामीले प्राप्त गरेको हरेक उपाधि टिमको योग्यता हो । खेलाडीहरू त्यसमा संलग्न थिए,' जिदानले भने, 'उनीहरुलाई बदनाम गर्नु हुँदैन किनकि धेरै जटिल र कठिन अवस्थामा हामी अन्तसम्म लडेका छौं।'