एजेन्सी । रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदान जिदानले अट्याकिङ मिडफिल्डर इडेन हाजार्डको चोट जटिल भएको बताएका छन् ।
ला लिगा अन्तर्गत सोमबार राति ग्रानाडासँगको खेलपछि बोल्दै प्रशिक्षक जिदानले हाजार्डको चोट केहि जटिल भएको बताएका हुन् ।
'एक खेलाडीलाई खेल्नका लागि पूर्ण ठिक हुनुपर्छ । ऊ पूर्ण रुपमा ठिक छैनन्,' जिदानले भने, 'उनको अवस्था केहि जटिल छ ।'
हाजार्डले एक साताअघि चोट बोकेका थिए । एथ्लेटिक बिल्बाओसँगको खेलमा उनको दाहिने खुट्टाको एन्कलमा चोट लागेको थियो ।
तर, हाजार्ड बिनाको रियलले सोमबार राति ग्रानाडालाई २-१ ले हराएको थियो । जितसँगै रियलले बार्सिलोनाविरुद्ध ४ अंकको अग्रता बनाएको थियो ।
यस सिजन रियल उपाधि नजिक रहेको छ । रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ ।
यस्तै जिदानले अर्को खेलबाट हाजार्ड पूर्ण रुपमा फिट हुने आशा रहेको समेत बताए ।
'मलाई आशा छ कि उनी बिहीबार शतप्रतिशत फिट हुन सक्छन् र टोलीलाई मद्दत गर्न सक्छन् । उनी यो चाहन्छन्,' जिदानले भने ।