एजेन्सी । बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानले चोट बोकेका छन् ।
बार्सिलोनाले ग्रिजम्यानको चोट पुष्टि गर्दै उनले ला लिगाको बाँकी सिजन गुमाउन सक्ने बताएको हो । फ्रान्सेली फरवार्डले मांशपेसीमा चोट बोकेका हुन् ।
प्रशिक्षक क्विक सेटियनले ग्रिजम्यानलाई सुरुवाती लाईन अपमा राख्दै शनिबार रियल भालाडोलिडबिरुद्ध मैदान उतारेका थिए । खेलमा बार्सिलोना १–० ले विजयी रह्यो ।
उनी पहिलो हाफमै मैदान छाडेका थिए । उनको स्थानमा लुईस सुआरेज मेस्सीको जोडीको रुपमा फरवार्ड लाईनमा आएका थिए ।

प्रशिक्षक सेटियनले फ्रान्सेली फरवार्डले पहिलो हाफमा असहज महशुश गरेपछि मैदान छाड्न चाहेको बताए । आईतबार उनको दाहिने खुट्टाको जाँच गरिएको थियो ।
परिक्षण लगत्तै उनको माशंपेसीमा चोट लागेको पुष्टि भएको थियो । क्याटलान क्लब ग्रिजम्यान कति समय मैदान बाहिर रहन्छन् भन्ने बिषयमा अनिश्चित देखिएको छ ।
'बिहान गरिएको परिक्षणमा पहिलो टिमका खेलाडी एन्टोनी ग्रिजम्यानको मांशपेसीमा चोट देखिएको छ ।' क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
'उनी तत्काल वर्तमान समय टिममा उपलब्ध हुने छैनन् । उनको चोटको विकासले उनी मैदान फर्कने बिषय निश्चित गर्नेछ ।' बार्सिलोनाले भनेको छ ।
ग्रिजम्यान बिहिबार ओसासुनाबिरुद्ध हुने खेल निश्चित रुपमा गुमाउनेछन् । उनी जुलाई १९ मा आल्भेसबिरुद्ध हुने खेल समेत गुमाउन सक्नेछन् ।
ग्रिजम्यान गत सिजन एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका थिए । उनले ला लिगा च्याम्पियन टिमका लागि ३५ खेलमा ९ गोल गरेका छन् ।
ग्रिजम्यानको अनुपस्थितीसंगै फरवार्ड लाईनमा सुआरेज फर्कन सक्नेछन् । क्याटलान क्लब शीर्ष स्थानको रियल मड्रिड भन्दा एक अंकले पछि छ ।
बार्सिलोनाले च्याम्पियन्स लिगको समेत तयारी गर्दैछ । अगष्टबाट फर्कने प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा बार्सिलोनाले नापोलीसंग खेल्दैछ । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । कोरोनाका कारण प्रतियोगिता अबरुद्ध बनेको थियो ।