एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा वेष्ट ह्यामले नर्विच सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
नर्विचको मैदानमा वेष्ट ह्यामलाई जित दिलाउन मिचेल एन्टोनियो एक्लैले ह्याट्रिकसहित ४ गोल गरे ।
खेलको ११ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दा वेष्ट ह्याम २-० ले अघि रह्यो ।

दोस्रो हाफमा एन्टोनियोले थप दुई गोल गरे । ५४ औं मिनेटमा गोल गर्दै एन्टोनियोले ह्याट्रिक पुरा गरे ।
त्यसपछि खेलको ७४ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत चौंथो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।
जितसँगै वेष्ट ह्यामले ३५ खेलमा ३४ अंक जोडेको छ । वेष्ट ह्याम १६ औं स्थानमा रहेको छ ।
यस हारसँगै नर्विच रेलिगेसनमा परेको छ । नर्विच यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम हो ।
२१ अंक जोडेको नर्विच पुछारमा रहेको छ ।
अर्को खेलमा वाट्फोर्डले न्युकासल युनाइटेडलाई २-१ गोल अन्तरले हराएको छ ।
वाट्फोर्डको जितमा कप्तान ट्रोय डिनीले पेनाल्टीमा दुई गोल गरे । न्युकासलका ड्वाइट गेलले एक गोल फर्काए ।
जितसँगै ३४ अंक जोडेको वाट्फोर्ड १७ औं स्थानमा रहेको छ । न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।