एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले क्लबका युवा स्ट्राइकर मासन ग्रीनवुडलाई उच्च स्तरको खेलाडी बन्न सहयोग गर्ने बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लासँगको खेलपछि स्काई स्पोर्ट्ससँग कुरा गर्दै पोग्बाले ग्रीनवुडसहित युवा खेलाडीको खेल विकासमा सहयोग गर्ने बताएका हुन् ।
'ग्रीनवुडसँग खेल्न मलाई रमाईलो लाग्छ । प्रशिक्षण र खेलमा ऊसँग रमाउने गर्छु,' पोग्बाले भने, 'म उनलाई शीर्षमा पुग्न सहयोग गर्नेछु ।'
एस्टन भिल्लाविरुद्ध ३-० को जित निकाल्दा ग्रीनवुड र पोग्बाले एक एक गोल गरेका थिए ।
भिल्लासँगको खेलमा गोल गरेका १८ वर्षे ग्रीनवुड युनाइटेडका लागि लगातार तीन खेलमा गोल गर्ने दोस्रो टिनेज खेलाडी बने । यस अघि युनाइटेडका सर्वाधिक गोलकर्ता तथा पूर्व कप्तान वायन रुनीले गरेका थिए ।
यस्तै पोग्बाले ग्रीनवुडले अहिलेको भन्दा अझै राम्रो गर्न सक्ने समेत बताए ।
'उसले गर्नु पर्ने धेरै छ । अहिलेको भन्दा उसले बढी गर्न सक्छ । ऊ प्रतिभाशाली हो र उसले टोलीमा खेल्न सक्नु भन्ने देखएको छ,' पोग्बाले भने ।