लेस्टरलाई उछिन्दै चेल्सी तेस्रो स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे ।
क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।
चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे ।
खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो । उनले पनि विलियनको पासलाई सदुपयोग गरे ।
तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २-१ ले अघि रह्यो ।
खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए ।
त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३-२ गोल अन्तरले बिजयी भयो । बेन्टेकेले २ वर्षपछि प्रिमियर लिगमा गोल गरेका हुन् ।
यस्तै खेलको इन्जुरी समयमा क्रिस्टल अभागी साबित भयो । क्रिस्टलका स्कट डानको हेड प्रहार पोस्टमा लागेर फर्किएपछि क्रिस्टल बराबरी गर्न चुकेको थियो ।
जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो ।
चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । एक खेल कम खेलेको लेष्टर ५८ अंक रहेको छ ।
पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।