एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) पाँच खेल हुँदैछ ।
प्रिमियर लिगमा शनिबार चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, लेष्टर सिटी लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
शीर्ष तीनका लागि प्रतिस्पर्धा गरिरहेको चेल्सीले घरेलु मैदानमा वाट्फोर्डसँग खेल्नेछ ।
स्टामफोर्ड ब्रिजमा हुने चेल्सी र वाट्फोर्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी जित निकाल्दै शीर्ष तीनको यात्रालाई कायम राख्न चाहन्छ ।
चौंथो स्थानको चेल्सी तेस्रो स्थानको लेष्टर सिटी भन्दा एक अंकले पछि रहेको छ ।
अघिल्लो खेलमा वेष्ट ब्रमसँग पराजित भएपछि चेल्सीले शीर्ष तीनमा उक्लने मौका गुमाएको थियो ।
चेल्सीले ३२ खेलमा ५४ अंक जोडेको छ । लेष्टरको ५५ अंक रहेको छ । वाट्फोर्ड २८ अंकसहित लिगको १७ औं स्थानमा रहेको छ ।
शनिबार लेष्टर पराजित वा बराबरीमा रोकिएको खण्डमा र वाट्फोर्डलाई हराएमा चेल्सी तेस्रो स्थानमा उक्लनेछ ।
लेष्टरले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ । क्रिस्टल ४२ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।
यस्तै युनाइटेडले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । दुई टोलीबीचको खेल बेलुका ७:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै युनाइटेड शीर्ष चारमा रहेको टोलीविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।
पाँचौं स्थानमा रहेको युनाइटेडको ५२ अंक रहेको छ । बर्नेमाउथ २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
आर्सनलले उल्भ्ससँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
आर्सनल ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ । उल्भ्स ५२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा नर्विच सिटीले ब्राइटनसँग खेल्नेछ ।