एजेन्सी । इंग्लिस क्लब चेल्सीले जर्मनीका स्ट्राइकर टिमो वार्नरलाई अनुबन्ध गरेको छ ।
चेल्सीले फरवार्ड वार्नरलाई जर्मन क्लब आरबी लाइपजिगबाट क्लबमा अनुबन्ध गरेको छ ।
वार्नरले चेल्सीसँग पाँच वर्षे सम्झौता गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।
चेल्सीले वार्नर जुलाईबाट टिममा सामेल हुने जनाएको छ । उनी सिजनको अन्त्यसम्म जर्मन क्लबमा रहने छन् ।
वार्नर सम्झौताका लागि राजी भएको र मेडिकल परिक्षण बाँकी भएको समेत चेल्सीले जनाएको छ ।
२४ वर्षे वार्नरले जर्मन क्लबका लागि १ सय ५७ खेलमा ९३ गोल र ४० गोलका लागि पास उपलब्ध गराएका छन् ।
'चेल्सीसँग सम्झौता गर्न पाउँदा खुसी छु । ठूलो क्लबको एक भाग हुन पाउँदा अत्यन्तै गर्वको महशुस गरेको छु,' वार्नरले भनेका छन्, 'चार वर्षे शानदार बसाईका लागि लाइपजिग र समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु ।'