एजेन्सी । कोरोना भाईरसले स्थगित प्रिमियर लिग फुटबल फर्किएको दिन म्यान्चेष्टर सिटीले आर्सनललाई हराएको छ ।
बिहिबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–० ले हराएको हो ।
सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डी ब्रुईन र फोडिनले एक एक गोल गरे ।
आर्सनलका डेबिड लुईज ४९ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।
लुईस पहिलो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । उनले क्लियर गर्न नसकेको बलमा पहिलो हाफको ईन्जुरी समयमा स्टर्लिङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफमा पेनाल्टी बक्सभित्र रियाद महरेजमाथि फल गरेपछि सिटीले पेनाल्टी प्राप्त गर्यो । ब्रुईनले कुनै गल्ती नगरि सिटीको अग्रतालाई दोब्बर बनाए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फिल फोडिनले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै सिटीलाई सहज जित दिलाए ।
आर्सनल प्रशिक्षक मिकेल अर्टेटाले एलेक्जेन्डर लाकाजेट्टीलाई बेन्चमा र मेसुट ओजिललाई टिम बाहिर राख्दै सिटीबिरुद्ध मैदान उत्रिएका थिए ।
आर्सनलले पियरी ईम्रिक अबुमियाङ र एडी नेकेतियालाई सुरुवाती मौका दिएपनि सिटीनै खेलमा आक्रमक देखिएको थियो ।
तालिकाको दोस्रो स्थानको सिटीले ६० अंक जोडेको छ । उसले तेस्रो स्थानको लेस्टर युनाईटेडसंग ७ अंकको अग्रता लिएको छ । आर्सनल ४० अंक सहित नवौं स्थानमा छ ।
बुधबार रातिनै भएको खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाईटेडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । जसले रेलिगशेन जोनमा रहेको एस्टन भिल्लामाथि दबाब थपिएको छ । सेफिल्ड युनाईटेडले समेत लिगका शीर्ष ५ भित्र उक्लिने मौका गुमाएको छ ।