एजेन्सी । अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि अमेरिकामा रंगभेदी व्यवहारविरुद्धको आन्दोलन चर्किएको छ ।
मिनियापोलिस शहरमा दुई साता अघि प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा लामो समय थिचेपछि उनको मृत्यु भएको थियो ।
फ्लोयडको मृत्युपछि काला जातिका मानिसलाई प्रहरीले घाँटी थिचेर मारेको भन्दै अमेरिकाबाट सुरु आन्दोलन विश्वभर फैलिएको छ ।
काला जातिले बाच्न पाउनु पर्ने भन्दै विश्वभर विरोध भईरहेको छ । विश्वभर 'ब्लाक लाइभ्स म्याटर' आन्दोलन चलिरहेको छ ।
यस आन्दोलनमा प्रिमियर लिग क्लबले समेत ऐक्यबद्धता जनाएका छन् ।
प्रिमियर लिग क्लबले आन्दोलनमा ऐक्यबद्धता जनाउन खेलाडीले प्रयोग गर्ने जर्सीमा नाम र जर्सी नम्बर कालो रङ्गले लेखेको छ ।

यस अघि प्राय सेतो रङ्गको प्रयोग गर्दै आईरहेको क्लबले 'ब्लाक लाइभ्स म्याटर' आन्दोलनमा ऐक्यबद्धता जनाउन कालो रङ्ग प्रयोग गरेको हो ।
प्रिमियर लिग सुचारुपछि सुरुवाती १२ खेलमा खेलाडीले कालो रङ्गले लेखिएको जर्सी र नम्बर प्रयोग गर्ने छन् ।
कोरोनाले स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ । एस्टन भिल्ला र सेफिल्डबीचको खेलसँगै लिग सुचारु हुनेछ ।
यस्तै प्रिमियर लिगले खेल दौरान घुँडा टेकेर सांकेतिक विरोध गर्ने खेलाडीलाई सहयोग गर्ने जनाएको छ ।

यस अघि जर्मन बुन्डेसलिगा क्लबहरुले समेत यस आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।