एजेन्सी । बार्सिलोना पूर्व कप्तान तथा मिडफिल्डर आन्द्रे इनिएस्टाले लियोनल मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी भएको बताएका छन् ।
पूर्व स्पेनिस स्टार इनिएस्टाले मेस्सीले मैदानमा हरेक कुरामा फरक बनाउने बताउँदै आफ्ना लागि मेस्सी नम्बर एक खेलाडी भएको बताएका हुन् ।
'उनले हरेक कुरामा फरक बनाउने गर्छन् । ऊ ह्याट्रिक गर्न र ह्याट्रिकका लागि पास उपलब्ध गराउन सक्षम छन्,' जापानिज क्लबबाट खेलिरहेका इनिएस्टाले भने, 'मेरो लागि ऊ नम्बर एक हो । किनभने उनले जुनसुकै समयमा फरक पार्न सक्छन ।'
पहिल्लो समय ६ पटकको बालोन डी'ओर विजेता मेस्सी र पाँच पटकको विजेता रोनाल्डोबीच को उत्कृष्ट भन्ने विषयमा विवाद रहदै आएको छ ।

तर, भिसेल कोबेबाट खेलिरहेका इनिएस्टाले भने बार्सिलोनाका कप्तान मेस्सीको पक्ष लिएका हुन् ।
सन् २००४ बाट बार्सिलोनामा रहेका मेस्सीले क्लबका लागि ४ च्याम्पियन्स लिग र १० ला लिगा उपाधि जितेका छन् ।
यस्तै इनिएस्टाले भने मेस्सीको कप्तानीमा बार्सिलोनाले अझै धेरै च्याम्पियन्स लिगको उपाधि जित्ने बताए ।
'बार्सिलोनाको टिमसँग मेस्सीको नेतृत्वमा बार्सिलोनाले पक्कै पनि अरु धेरै च्याम्पियन्स लिगहरू जित्न सक्ने छन्,' ३६ वर्षे इनिएस्टाले थपे ।
बार्सिलोनाका महान खेलाडीको रुपमा चिनिने इनिएस्टाले सन् २०१८ मा बार्सिलोना छाडेर जापानिज क्लब गएका थिए ।