एजेन्सी । लण्डन क्लब आर्सनलले मौरो ईकार्डीलाई आफ्ना फरवार्ड पियरिक ईम्रिक अबुमियाङसंग साटफेरको प्रस्ताव गरेको छ ।
ईटालियन रिपोर्टका अनुसार आर्सनलले आफ्ना फरवार्ड अबुमियाङलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट लोनमा खेलिरहेका ईकार्डीलाई साटफेरको प्रस्ताव गरेको हो ।
सिरि ए क्लब ईन्टर मिलानका खेलाडी ईकार्डीले लोनमा पीएसजीबाट फ्रेन्च लिग खेलेका थिए ।
ईकार्डी लामो समय लोनमा पीएसजीमा बस्न चाहदैनन् । प्रशिक्षक र बोर्डसंगको विवादले उनी ईन्टर मिलान फर्कन समेत अनिच्छुक रहेका छन् ।
ईकार्डीले साप्ताहिक रुपमा १ लाख ७० हजार डलरको तलबको माग गर्दै विवाद गरेपछि उनलाई पछिल्लो बर्ष क्लबको कप्तानबाट हटाईएको थियो ।
उनको सिरि ए क्लबसंगको सम्झौता सन् २०२१ सम्म मात्र रहेको छ । ईन्टर प्रशिक्षक एन्टोनी कोन्टे समेत उनलाई सिरि ए फर्काउन चाहदैनन् ।
आर्सनलका लिजेण्ड टोनी एडम्ले अबुमियाङले समर ट्रान्सफरमा लण्डन क्लब छाड्न सक्ने बताएका थिए ।
३० बर्षका फरवार्ड मात्र ३० मिलियन पाउण्डमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । म्यान्चेष्टर युनाईटेड समेत अबुमियाङलाई अनुबन्धका लागि उत्सुक देखिएको छ ।
तर रिपोर्टका अनुसार बोरुसिया डर्टमण्डका पुर्व फरवार्डले यसअघिनै ईन्टरसंग छलफल गरिसकेका छन् । सोही कारण ईकार्डी र अबुमियाङ साटफेर गर्न दुवै क्लब ईच्छुक देखिएको बताईएको छ ।
ईन्टर नयाँ फरवार्डको खोजीमा रहेको छ । म्यान्चेष्टर युनाईटेडका पुर्व फरवार्ड रोमेलु लुकाकु ईन्टरमा आफुलाई सफल फरवार्डको रुपमा प्रस्तुत गरिरहेका छन् ।