एजेन्सी । जर्मनको शीर्ष डिभिजनको लिग फुटबल बुन्डेस लिगा पुन: सञ्चालन गर्न समस्या देखिएको छ । अभ्यासको क्रममा रहेका क्लबका स्टाफ तथा खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि बुन्डेस लिगा पुन: सुरु गर्न समस्या देखिएको हो ।
बुन्डेस लिगाको अबरुद्ध सिजन मे १५ बाट सुरु गर्ने योजना रहेको छ ।
पछिल्लो समय बोरुसिया मोन्चेनग्लाडबाचका दुई जनामा कोरोना संक्रणमको पुष्टि भएको छ । गोपनियतालाई ख्याल गर्दै क्लबले खेलाडी तथा स्टाफको नाम सार्वजनीक गरेको छैन । तर दुवै जनालाई क्वारेन्टाईनमा राखिएको क्लबले जनाएको छ । लिग सुरु हुनु १० दिन अघिमात्र कोरोनाको नयाँ संक्रमित भेटिएका हुन् ।

कोरोनाको विश्वव्यापी प्रभावसंगै मार्च ११ बाट जर्मन फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो । परिक्षणको क्रममा मोन्चेनग्लाडबाचका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको क्लबले जनाएको छ । त्यसमध्य एक खेलाडी र एक क्लबका स्टाफ रहेका छन् ।
क्लबले अबरुद्ध सिजन पुन सुरु गर्नु अघि आफ्ना खेलाडीको स्वास्थ्य परिक्षण गरेको थियो । जर्मन फुटबल मे १५ बाट सुरु गर्ने अपेक्षा गरिएको थियो । बन्द रंगशालामा सिजनका बाँकी खेल खेलाउने तयारी छ ।
कोरोनाको सामुहिक परिक्षणमा राम्रो नतिजा हासिल गरेको जर्मनीले युरोपका अन्य देशभन्दा तुलनात्मक रुपमा कोरोना रोकथाममा प्रशस्त सुधार गरेको छ । सोही कारण उसले लकडाउनलाई समेत खुकुलो बनाउँदै लगेको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार स्कुल, पसलसंगै फुटबल समेत पुन सुरु गर्ने बिषयमा औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ । जर्मनका दुई शीर्ष डिभिजनका अधिकांश क्लबहरु सानो समूह बनाएर अभ्यासमा फर्किसकेका छन् ।

तर पछिल्लो समय एक पछि अर्को गर्दै क्लबका स्टार तथा खेलाडीमा कोरोना देखिएको छ । केही दिन अघिमात्र शीर्ष डिभिजनको क्लब कोलोनका एक जना स्टाफमा कोरोनाको संक्रमण देखिएको थियो भने दोस्रो डिभिजनका क्लबका दस बढी खेलाडीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
सोही कारण बुन्डेस लिगाको अबरुद्ध सिजन अझ केही समय पछाडी धकेलिन सक्ने बताईएको छ । बुन्डेशलिगामा करिब ९ चरणका खेल बाँकी छन् ।
शीर्ष स्थानको वायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग ४ अंकको अग्रता लिएको छ ।