एजेन्सी । अधिकांस फुटबल खेलाडीले ३० वर्ष कटेपछि सन्यास घोषणा गर्छन् । किनकि शारीरिक र मानिसिक रुपमा उनीहरु कमजोर हुँदै जान्छन् ।
तर, केहि यस्ता फुटबल खेलाडी छन् जो ३५ वर्ष पुगेपनि खेल जीवनमा सक्रिय छन् । युवा खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् ।
उमेरले ३५ वर्ष नाघेपनि उनीहरु शारीरिक र मानसिक रुपमा अन्य खेलाडी भन्दा कम छैनन् ।
३५ वर्ष बढी उमेरका पाँच उत्कृष्ट खेलाडीको चर्चा तल गरिएको छ ।
१.क्रिस्टियानो रोनाल्डो
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वको सर्वश्रेष्ट खेलाडी हुन् ।
इटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डो आफ्नो पुस्ताको महान खेलाडी हुन् । तर, उनी ३५ वर्ष पुगिसकेका छन् ।
गत फेब्रुवरीबाट रोनाल्डो ३५ वर्ष पुगेका थिए । तरपनि रोनाल्डोको खेल पुरानै लयमा रहेको छ ।

क्लबका लागि निरन्तर गोल गरिरहेका छन् । प्रिमियर लिग, ला लिगा र सिरी ए लिगमा ह्याट्रिक गर्न सफल रोनाल्डो अझै पनि २० वर्षे खेलाडीले जस्तै खेल्ने गर्छन् ।
यस सिजन लिगमा रोनाल्डोले २२ खेलमा २१ गोल गरेका छन् । अन्य प्रतियोगिता गरि कुल २५ गोल गरेका छन् ।
रोनाल्डो शारीरिक र मानसिक रुपमा समेत अझै युवा जस्तै देखिन्छन् ।
२. ज्लाटन इब्राहिमोविच
स्विडेनका भेट्रान फुटबलर ज्लाटन इब्राहिमोविच उमेरले ३८ वर्ष पुगेका छन् । तर, मैदानको इब्राहिमोविचको जोश युवाकै जस्तो देखिन्छ ।
इटालियन क्लब एसी मिलानबाट खेलिरहेका फरवार्ड इब्राहिमोविचले यस सिजन ४ गोल गरिसकेका छन् । जनवरी ट्रान्सफरमा मिलान आएका उनले छोटो समयमै आफुलाई अब्बल रहेको प्रमाणित गरे ।

बार्सिलोना, पीएसजी, युभेन्ट्स, इन्टर मिलान, म्यान्चेस्टर युनाइटेड लगायतका क्लबबाट खेलिसकेका इब्राहिमोविच अझै सन्यासको योजनामा छैनन् ।
३ . फ्रान्क रिबेरी
फ्रान्सका भेट्रान रिबेरी ३७ वर्ष पुगिसकेका छन् । तर, अझै उनी इटालियन शीर्ष डिभिजन क्लब फियोरेन्टिनाबाट खेलिरहेका छन् ।
विंगर रिबेरी जर्मन क्लब वायर्न म्युनिखबाट गत सिजन इटाली गएका थिए । वायर्नमा रिबेरी र आर्जेन रोबिनको साझेदारीलाई विश्वको घातक विंगर जोडीको रुपमा लिने गरिन्थ्यो ।

उमेरले पाको भएपनि रिबेरी मैदानमा अझै सक्रिय देखिन्छन् । टिमका लागि उनको प्रदर्शन निकै महत्वपूर्ण हुने गरेको छ ।
फ्रान्सको टिमबाट बाहिर भएको लामो समय भएपनि रिबेरीले सन्यास योजना बनाएका छैनन् ।
४. थियागो सिल्भा
ब्राजिलियन डिफेन्डर सिल्भा ३५ वर्ष पुगिसकेका छन् । तर, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि उनी महत्वपूर्ण डिफेन्डर हुन् ।
विश्वका उत्कृष्ट सेन्टर ब्याक सिल्भा अझै पीएसजीको पहिलो रोजाईका खेलाडी हुन् । पाको उमेर हुँदै गएपनि सिल्भा विश्वका उत्कृष्ट फरवार्डका लागि कठिन डिफेन्डर हुन् ।

यस सिजन उनको पीएसजीसँगको सम्झौता सकिदैछ । तर, उनले सन्यासबारे सोचेका छैनन् ।
पीएसजीका पूर्व कप्तान समेत रहेका सिल्भाले क्लबका लागि ७ लिग उपाधि जितिसकेका छन् ।
५. सान्चेज रोड्रिगेज
स्पेनिस फुटबलर सान्चेज रोड्रिगेज ३८ वर्ष पुगिसकेका छन् । तर, ला लिगाको शीर्ष डिभिजन अझै उनी सक्रिय रहेका छन् ।
रोड्रिगेज रियल बेटिसका कप्तान समेत हुन् । विंगर रोड्रिगेजले यस सिजन २८ खेलमा १० गोल गरिसकेका छन् ।
यस सिजन रोड्रिगेज ला लिगामा ह्याट्रिक गर्ने सर्वाधिक बढी उमेरका खेलाडी भएका थिए ।
