एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान सफल प्रशिक्षक हुन् । छोटो समयमै उनले आफुलाई अब्बल दर्जाको प्रशिक्षकको रुपमा उभ्याईसकेका छन् ।
फ्रान्सेली प्रशिक्षक जिदानले रियललाई तीन पटक च्याम्पियन्स लिग र एक पटक ला लिगा जिताईसकेका छन् ।
विश्वकप विजेता जिदान खेलाडी जीवनमा समेत सफल थिए । फ्रान्सका लागि विश्वकप जितेका जिदानले युरोपका ठुला क्लबबाट थुप्रै उपाधि जितेका छन् ।
जिदानले हालै विश्व फुटबलका उत्कृष्ट खेलाडीहरु राखेर आफ्नो सर्वकालीन उत्कृष्ट-११ टिमको छनोट गरेका छन् ।
जिदानले आफ्ना समयका उत्कृष्ट खेलाडीहरु समेटेर उत्कृष्ट-११ छनोट गरेका छन् ।
जिदानले बनाएको आफ्नो ड्रिम टिममा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् ।
जिदानको टिमको गोलकिपरमा इकर कासिलास रहेका छन् । यस्तै डिफेन्डरमा माइकल साल्गाडो, इभान हेल्गुएरा, पाओलो मोन्टेरो र रोबर्टो कार्लोस रहेका छन् ।
मिडफिल्डरमा डिडियर डेसच्याम्पस, एल्सियो टाच्चिनार्डिप्स र गुटी रहेका छन् । फरवार्डमा लुइस फिगो, राउल गोन्जालेज र क्रिस्टोफे डुगारी रहेका छन् ।