एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फ्रान्सेली स्टार केलियन एम्बाप्पे अनुबन्धमा चासो राखेका छन् ।
एनफिल्ड प्रशिक्षक क्लोपले एम्बाप्पेका बुवा विल्फ्रेडसंग फ्रान्सेली स्टारको भविष्यको बिषयमा छलफल गरेका हुन् ।
क्लोपले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार एम्बाप्पेको सम्भावित गन्तव्यको बिषयमा उनको बुवासंग छलफल गरेका छन् । एनफिल्ड क्लबले पीएसजीका स्टार एम्बाप्पेलाई आफ्नो सम्भावित खेलाडीको सूचिमा राखेको छ ।
क्लबका स्टार साडियो माने निरन्तर रुपमा रियल मड्रिडसंग जोडिएपछि लिभरपुलले समेत युरोपेली क्लब फुटबलका तिव्र गतिका फुटबलर एम्बाप्पेमाथि नजर लगाएको हो ।

एम्बाप्लेले यसअघि पीएसजी क्लब छाड्ने संकेत गरेका थिए । क्लब फुटबलका सर्वाधिक माग गरिएका एम्बाप्पेलाई अनुबन्ध गर्न लिभरपुलले विश्व कीर्तिमानी मुल्य रकम खर्च गर्नुपर्नेछ ।
फ्रान्सेली मिडियाका अनुसार क्लोपले समर ट्रान्सफरमा एम्बाप्पे अनुबन्धका लागि उनको बुवासंग प्रस्ताव राखेका छन् ।
सेनेगर फरवार्ड मानेलाई बाहिर पठाउँदै लिभरपुल सरुवा बजारमा ठुलो नामलाई क्लबमा भित्र्याउन चाहन्छ ।
पीएसजीले सन् २०१७ मा विश्व कीर्तिमानी मुल्यमा बार्सिलोनाबाट नेयमारलाई अनुबन्ध गरेको थियो । एम्बाप्पेको सरुवाले सो रकमको कीर्तिमान भंग गर्न सक्ने अनुमान गरिएको छ ।
एम्बाप्पेका लागि करिब २ सय ५० मिलियन पाउण्डको सम्भावित रकम निर्धारण गरिएको छ । तर कोरोना भाईरसले बिग्रिएको युरोपको अर्थतन्त्रले ठुलो रकमको सरुवा कठिन हुने अनुमान पनि गरिएको छ ।

लिभरपुलले सन् २०१७ मै एम्बाप्पेको प्रतिनिधिसंग सम्पर्क गर्दै सम्भावित गन्तव्यको बिषयमा छलफल गरेको थियो । तर मोनाकोका स्टार फरवार्ड ठुलो मुल्यमा अर्को फ्रान्सेली क्लब पीएसजी पुगेका थिए ।
लिभरपुल युरोपेली क्लब फुटबलमा नयाँ च्याम्पियनको रुपमा उदाएको छ ।
क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने पहिलो पटक प्रिमियर लिग उपाधिको नजिक रहेको छ । सोही कारण प्रशिक्षक क्लोप विश्व फुटबलका उत्कृष्ट खेलाडी एम्बाप्पेलाई आफ्नो क्लबमा चाहेका छन् ।