एजेन्सी । डच क्लब आयाक्सका मिडफिल्डर हाकिम जियाचले आफु जुलाई १ बाट चेल्सीको खेलाडी हुने बताएका छन्।
कोरोना भाईरसको कारण ट्रान्सफर विन्डो प्रभावित हुने अनुमान गरिएपनि जियाचले भने आफु जुलाईबाट चेल्सीको खेलाडी हुने बताएका हुन् ।
चेल्सीले गत फेब्रुवरीमै जियाच अनुबन्धको लागि आयाक्ससँग सहमति गरेको थियो । चेल्सीले समरमा उनलाई सार्वजनिक गर्ने जनाएको थियो ।
'मैले सम्झौतामा हस्ताक्षर गरे अनुसार जुलाई १ मा म चेल्सीको खेलाडी हुनेछु । यस बाहेक अन्य विचार म राख्दिन,' जियाचले भने ।
लण्डन क्लब चेल्सीले २७ वर्षीय मोरक्कोका मिडफिल्डरलाई ३३.३ मिलियन पाउण्डमा डच क्लबसँग सहमति गरेको थियो ।
विश्वभर फैलिएको कोरोनाले क्लबमा पर्न गएको आर्थिक संकटको कारण खेलाडी ठुला ट्रान्सफर प्रभावित हुने अनुमान गरिएको छ ।
जियाचले भने आफ्नो ट्रान्सफर नरोकिने समेत बताए ।
'मेरो लागि स्पस्ट छ । ट्रान्सफर बजारमा के हुन्छ भनेर कसैलाई पनि थाहा छैन,' उनले थपे ।
कोरोनाको डच लिग रद्द भईसकेको छ । लिग रद्द भएसँगै आयाक्स उपाधि जित्नबाट बन्चित भएको छ ।